Date : 2024-04-23


कामदार उड्ने जहाजमा अनिवार्य खानाको व्यवस्था गर्न श्रममन्त्रीको आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजभित्र अनिवार्यरुपमा खानाको व्यवस्था गर्न आग्रह गरेका छन् । सोमबार वैदेशिक रोजगारी व्यवसायी संघ र मन्त्रालयबीच मन्त्रालयमा भएको छलफलमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर व्यवसायीमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजको टिकटमा अनिवार्यरुपमा खानाको व्यवस्था गर्न मन्त्री अर्यालले आग्रह गरेका हुन् । 

 

मध्यपूर्व तथा मलेसिया जाने श्रमिकले औसत चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ । यात्रा गर्नुपूर्व तीन घण्टा अगाडि नै विमानस्थल पुग्नुपर्ने हुन्छ । गन्तव्य मुलुक पुगेपछि पनि श्रमिकले समयमा नै खाना खान पाउँदैनन् । यसरी वैदेशिक रोजगारीमा जाँदा घण्टौंसम्म भोकभोकै बस्नुपर्ने अवस्था छ । त्यसैले हवाई जहाजको टिकटमा नै खानाको व्यवस्था गरिदिन मन्त्री अर्यालले आग्रह गरेका हुन् । ‘मुलुकभित्रै अवसर नपाएर युवाहरु विदेशिन्छन् । विदेशिँदै गर्दा पनि हामीहरुले श्रमिकलाई घण्टौंसम्म भोकै राख्छौं,’ उनले भने, ‘कम्तीमा पनि जहाजभित्र पानी र एक पटकको खानाको व्यवस्था गरिदिनुस् ।’

नेपालबाट औसत १ हजार ५ सय युवा दैनिक रोजगारीका लागि मलेसिया तथा मध्यपूर्वका विभिन्न मुलुकमा जाने गरेका छन् । यी मुलुकहरुमा विभिन्न एयरलाइन्सले उडान भर्दै आएका छन् । नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स, मालिन्दो एयरलाइन्स, मलेसियन एयरलाइन्सले नेपालदेखि मलेसियाका उडान भर्दै आएका छन् । यस्तै हिमालयन एयरलाइन्स, नेपाल एयरलाइन्स, कतार एयरलाइन्सले नेपालदेखि  कतारका लागि उडान भर्दै आएका छन् । त्यस्तै, नेपालदेखि साउदी अरेयिबाका लागि हिमालयन एयरलाइन्सले मात्रै सिधै उडान भर्दै आएको छ भने एयर अरेयिबा, फ्लाई दुबई, कतार एयरलाइन्स, जजिरा एयरलाइन्स, कुवेत एयरलाइन्स, सलाम एयर, इन्डिगो एयरलाइन्स, एयर जजिरा, एयर इण्डियाले ट्रान्जिट उडान भर्दै आएका छन् । 

 

सलाम एयरलाइन्सले ओमान र नेपालबीच सिधै उडान भर्दै आएको छ भने फलाई दुबई, एयर जजिरा, एयर अरेबिया, कतार एयरवेजले ट्रान्जिट उडान भर्दै आएका छन् । यूएईका लागि हिमालयन एयरलाइन्स, नेपाल एयरलाइन्स, फलाई दुबई, एयर अरेबियाले सिधै उडान भर्दै आएका छन् भने एयर जजिरा, इन्डिगो, एयर इण्डिया, कुवेत एयरवेज र सलाम एयरवेजले ट्रान्जिटबाट उडान भर्दै आएका छन् । कुवेतका लागि कुवेत एयरवेज र एयर जजिराले उडान भर्दै आएका छन् । तर नेपाल एयरलाइन्सलगायत अन्य चार वटा एयरलाइन्सले मात्रै अनिवार्यरुपमा खाना दिने गरेको व्यवसायीहरु बताउँछन् ।