Date : 2023-06-25
जन्मसिद्धका सन्तानलाई नागरिकता: ‘५-६ महिना लाग्न सक्ने’
जन्मसिद्ध नागरिकका सन्तानलाई आइतवारदेखि वंशजको आधारमा नागरिकता दिने प्रक्रिया सुरु गरिने गृह मन्त्रालयले जनाएको छ।
सर्वोच्च अदालतले राष्ट्रपतिद्वारा प्रमाणीकरण भइसकेको नागरिकता ऐन लागू गर्न यसअघि लगाएको अस्थायी रोक बिहीवार फुकुवा गरिदिएपछि जन्मसिद्ध नागरिकका सन्तानहरूको नागरिकता लिने लामो प्रतीक्षा पूरा हुने देखिएको हो।
गृह मन्त्रालयका अधिकारीहरूका अनुसार देशभरिका जिल्लाबाट करिब एक लाख ९० हजारजनाले जन्मको आधारमा नागरिकता लिएका छन्।
त्यस्तो नागरिकता लिनेको सङ्ख्या तराईका जिल्लाहरूमा धेरै भएको बताइएको छ।
त्यसैले त्यहाँका प्रशासन कार्यालयहरूमा ठूलो सङ्ख्यामा नागरिकता लिनेको भिड लाग्ने र त्यसको व्यवस्थापन चुनौतीपूर्ण हुने ठानिएको छ।
गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत भन्छन्, “हजारौँ हजार मानिसलाई एकै दिन सेवा दिन सक्दैनौँ, त्यसैले कम्तीमा पाँच-छ महिना लाग्ने हाम्रो अनुमान छ।”
भिड व्यवस्थापन चुनौती?
सम्बन्धित कार्यालयको क्षमता अनुसार दैनिक जारी गर्ने नागरिकता सङ्ख्या निर्धारण गरेर सुरुमा आवेदन दिनेलाई पहिला नागरिकता दिने गरी समय-कार्ड वा टोकन दिने योजना मन्त्रालयको छ।
मन्त्रालयले हालको जनशक्ति र उपलब्ध स्रोत साधनबाट मात्रै त्यो सम्भव नहुने ठम्याएको छ। त्यसैले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जनशक्ति व्यवस्थापनको निम्ति पत्राचार गरिसकेको प्रवक्ता बस्नेतले जानकारी दिए।
सेवाग्राही फर्किसकेपछि पनि अभिलेख व्यवस्थापन गर्नु पर्ने हुँदा कर्मचारीलाई बिहानदेखि बेलुकासम्म काममा खटाउनु पर्ने खाँचो पर्ने अधिकारीहरू बताउँछन्।