Date : 2023-05-29


हालसम्म ५५ लाख बढी नेपाली वैदेशिक रोजगारमा

वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनेको संख्या निरन्तर बढेको आर्थिक सर्वेक्षणले देखाएको छ । वैदेशिक रोजगारका लागि नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या गत फागुनसम्म ५५ लाख २६ हजार ७ सय ४ पुगेको छ । त्यसमा पुरूष ९४.४ र महिला ५.६ प्रतिशत रहेका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गरेका हुन् । चालु आर्थिक वर्षको फागुनसम्म भने वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिनेको संख्या ३ लाख ३७ हजार १ सय ४४ रहेको आर्थिक सर्वेक्षणले देखाएको छ । ईपीएसमार्फत दक्षिण कोरिया जाने नेपालीको संख्या ८५ हजार ८ सय ४ पुगेको छ । वैदेशिक रोजगारीमा गएकामध्ये मलेसियामा २६.५ प्रतिशत, कतारमा २६.४ प्रतिशत, साउदी अरेबियामा २२ प्रतिशत, यूएईमा १४.९ प्रतिशत, कुवेतमा ३.८ प्रतिशत, बहराइनमा १.३ प्रतिशत, ओमानमा ०.९ प्रतिशत, जापानमा ०.५ प्रतिशत र अन्य विभिन्न मुलुकमा ४ प्रतिशत नेपाली गएको सर्वेक्षणमा उल्लेख छ । दक्षिण कोरिया गएका नेपालीलाई अन्य वर्गमा राखिएको छ । हाल १ सय ११ मुलुकमा निजी क्षेत्रका ९ सय म्यानपावर कम्पनीले कामदार पठाउने गरेकोे भन्दै प्रतिवेदनमा मुख्य गन्तव्य मलेसिया, कतार, साउदी अरेबिया र यूएई रहेकोे उल्लेख छ । गत फागुन मसान्तसम्ममा ७ सय ८९ नेपालीको वैदेशिक रोजगारका क्रममा मृत्युु भएकोमा आश्रति परिवारले ४१ करोड १ लाख ८० हजार र अंगभंग भएका १ सय ६६ जनाले ५ करोड ९३ लाख १३ हजार रुपैयाँ क्षतिपूर्ति पाएको पनि प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले आर्थिक वर्ष २०७०/०७१ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा ९ हजार १ सय १७ जनाको ज्यान गएको औंल्याएको छ । फागुन मसान्तसम्ममा संस्थागत ४ सय ८५ र व्यक्तिगत ६ सय ८६ गरी जम्मा १ हजार १ सय ७१ उजुरी परेकोमा क्षतिपूर्तिबापत ५६ करोड ६८ लाख ५ हजार ८ सय ८१ रुपैयाँ दाबी गरिएको छ ।