![](https://rojgariapp.com//storage/617/dubai-now.jpg)
By : Rojgari App
एउटा एप जसले यूएईमा नेपाली कामदारलाई ‘ठगीबाट जोगिन मद्दत गर्न सक्छ’
संयुक्त अरब इमिरेट्स (यूएई) ले सम्झौताबमोजिम तलब, सुविधा दिइए वा नदिइएको नियमन गर्न प्रयोगमा ल्याउन लागेको एपबाट नेपाली कामदारहरू पनि लाभान्वित हुने अधिकारीहरूले बताएका छन्।
केही साताभित्रै नेपाली कामदारलाई पनि त्यसमा पहुँच दिने यूएईका अधिकारीहरूले नेपाली अधिकारीहरूलाई काठमाण्डूमा बुधवार सम्पन्न श्रम बैठकमा बताएका हुन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव कविराज उप्रेतीले यूएईका अधिकारीहरूलाई उद्धृत गर्दै बताएअनुसार सम्बन्धित एप प्रयोगमा ल्याउने दिशामा काम अगाडि बढिसकेको छ।
त्यो कार्यान्वयनमा आए रोजगारीका सिलसिलामा नेपाली कामदारहरू रोजगारदाताबाट ठगिने क्रम रोकिन सक्ने एकजना श्रमविज्ञले बताएकी छन्।
एपले कसरी काम गर्ने छ?
नेपाली कामदारका लागि खाडी मुलुक यूएई एउटा आकर्षक गन्तव्यको रूपमा रहिआएको छ।
तर रोजगारीमा जानुअघि भनिएको भन्दा अर्कै काममा लगाउने, तलब, सुविधा कम दिने लगायतका गुनासो प्रायः सुनिँदै आएको स्वयं अधिकारीहरू नै स्वीकार्छन्।
“सम्झौतामा उल्लिखित शर्तहरूमा पछि फेरबदल नहोस् भनेर ‘कन्ट्र्याक्ट भ्यालिडेशन’सम्बन्धी एपको विकास गरेको र नेपालसँग पनि छिटै शेअर गर्ने उहाँहरूले भन्नुभएको छ,” उप्रेतीले बीबीसी न्यूज नेपालीसँग भने।
“त्यो प्रयोगमा आएपछि श्रमिकले आफ्नो सम्झौतापत्रको आफैँले भ्यालिडेशन गर्न सकिने जानकारी उहाँहरूले दिनुभएको छ।”
रोजगारदाताहरूले कामदारसँग गरेको सम्झौताको निगरानी यूएई सरकारले एपमार्फत् निगरानी गर्न खोजेको उप्रेतीले बताए।
सो एपमा रोजगारदाताको पनि पहुँच हुने भए पनि तलब बढाउनेबाहेक अन्य कुरामा सम्पादन गर्न नमिल्ने गरी काम भइरहेको यूएईका अधिकारीहरूले नेपाली पक्षलाई जानकारी गराएका छन्।
“रोजगारदाताले दिने सहमति गरेको न्यूनतम सेवासुविधा लगायतमा सम्पादन गर्नेगरी केही गर्न नसक्ने हुन्छन् भनेर उहाँहरूले भन्नुभएको छ,” विशेषताबारे उप्रेतीले भने।
“नेपालमा एउटा कुरा भनेर सम्झौतापत्र पठाउने, कामदारहरू त्यता पुगेपछि तलबसुविधा कम दिने, कहिलेकाहीँ अर्कै काममा लगाउने जुन गुनासो व्यापक सुनिन्छ त्यसको निराकरणमा उहाँहरूको काम भइरहेको हो,”उनले थपे।
“त्यो एपमा गएर कामदारले आफ्नो पासपोर्ट नम्बर हालेपछि उसलाई गरिएको अफर भ्यालिड हो वा होइन भन्ने कुरा त्यहीँबाट थाहा हुनेछ।”
नयाँ प्रणाली लागु हुनासाथ सम्झौतापत्रमा हुने अदलाबदलीको समस्या अन्त्य हुने यूएई र नेपाली अधिकारीहरूको विश्वास छ।
एपबारे श्रमविज्ञ के भन्छन्?
खासगरी खाडी मुलुकमा रोजगारीका क्रममा तलब, सुविधादेखि विभिन्न कुरामा नेपालीहरू ठगिने गरेका गुनासाबीच यो एप उपयोगी साबित हुन सक्ने कतिपय श्रमविज्ञ बताउँछन्।
श्रमविज्ञ सरु जोशी भन्छिन्, “शर्तविपरीत काममा लगाइए वा नलाइएको कुरा एपमार्फत् निगरानी हुने भएपछि त्यसले कामदारलाई फाइदा हुने देखियो।”
सूचना, प्रविधि प्रयोगमा अगाडि रहेको यूएईको हकमा त्यो कार्यान्वयन हुनेमा आशा गर्न सकिने पनि उनी बताउँछिन्।
“सेवा, सुविधाको मामिलामा तुलनात्मक रूपमा नेपाली महिला श्रमिकहरू अझ बढी शोषणमा पर्ने गरेका हुँदा एपमार्फत् निगरानीले त्यसलाई रोक्न सक्छ,” जोशीले थपिन्।