Date : 2023-06-11


एसिया कप: नेपालले भारतसँगको खेल श्रीलंकामा खेल्ने सम्भावना, भोली हुँदैछ निर्णय

एसिया कप खेलमा भारतले पाकिस्तानको भुमिमा क्रिकेट खेल्न नमानेपछि त्यसको बिकल्प श्रीलंकालाई प्रस्ताव गरिएको छ । प्रस्ताव अनुसार श्रीलंकालाई तटस्थ भूमिका रुपमा प्रयोग गर्ने गरी एसिया कप क्रिकेट आयोजनाका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले गरेको प्रस्ताव एसियाली क्रिकेट काउन्सिल एसीसीले अनुमोदन गर्ने सम्भावना छ । एसिया कपमा खेलिने १३ मध्ये ५ वा ६ खेल श्रीलंकामा हुनेछ । भारतले खेल्ने सबै खेलहरु श्रीलंकामा हुनेछन् । एसिया कपमा भारत उपाधि दावेदार राष्ट्र हो । यदि भारत सेमी फाइनलमा पुगेको खण्डमा ५ खेल र फाइनलमा पनि पुगेको खण्डमा ६ खेल श्रीलंकामा हुनेछ । क्रिकेटसम्बन्धी विश्वव्यापी वेवसाइट क्रिकइन्फोका अनुसार भोली सोमबार यसबारे घोषणा हुँदैछ । प्रतियोगिताका लागि हाल १–१७ सेप्टेबरको समय निर्धारण गरिएको छ । पाकिस्तानमा हुने खेल लाहोरमा हुने सम्भावना छ । भारत–पाकिस्तान मतभेदका कारण प्रतियोगिताको आयोजनामै सन्देह भइरहेको समयमा यो महत्वपूर्ण सफलताका रुपमा हेरिएको छ । दुई देशबीचको समस्याले भारतमा यसै वर्ष आयोजना हुन लागेको आईसीसी एकदिवसीय विश्वकपमै असर पर्नसक्ने सम्भावना थियो । नेपालले पहिलोपल्ट एसिया कप खेल्दैछ । एसिया कपका खेलहरु अन्तर्गत समूह ए मा नेपाल टिम भारत र पाकिस्तानसँगै परेको छ । नेपालले समूहमा एक खेल पाकिस्तान र अर्को खेल श्रीलंकामा खेल्नुपर्ने अवस्था हुनसक्छ । भारत र पाकिस्तानले एकअर्काको देशमा यात्रा गर्न अस्वीकार गरेपछि आयोजक पाकिस्तानले सुरुमा दुवईलाई तटस्थ भूमिका रुपमा प्रयोग गर्न आग्रह गरेको थियो । तर, बंगलादेशले सेप्टेम्बरमा मध्यपूर्वमा हुने चरम गर्मी अवस्थाबारे चिन्ता व्यक्त गरेपछि श्रीलंकाले आफ्नो देशमा आयोजना गर्न प्रस्ताव गरेको थियो ।