Date : 2023-09-20


ड्राइभर भिसा खोल्ने योजनामा जापान

जापानले ड्राइभर पेशामा विदेशी कामदार भित्र्याउने योजना बनाइरहेको छ । ड्राइभरको काम गरिरहेका जापानी नागरिकहरु ६० वर्ष उमेर पुगेर वृद्ध अवस्थामा प्रवेश गरेको र युवा अवस्थाका जापानीहरु ड्राइभर पेशामा इच्छुक नदेखिएपछि  जापानको भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयले तोकुतेई गिनोउ अर्थात विशिष्ट सीपमा दक्ष कामदार (एसएसडब्लू) प्रणाली अन्तर्गत विदेशी कामदार भित्र्याउने गृहकार्य गरिरहेको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

 

विशिष्ट सीपमा दक्ष कामदार (एसएसडब्लू) अन्तर्गत विदेशी कामदार भित्र्याउने निर्णय भएमा हाल खाडीका विभिन्न मुलुकमा काम गरिरहेका र नेपालमै रहेका ड्राइभरहरुले रोजगारको राम्रो अवसर पाउन सक्ने बताइएको छ । 

 

ड्राइभरको अभाव पूरा गर्न आगामी दुई–तीन महिनाभित्र त्यहाँको भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालय र अध्यागमनले यातायात उद्योगलाई पनि तोकुतेई गिनोउमा समावेश गर्न सक्ने पनि जापानी सञ्चारमाध्यमहरुको आंकलन छ ।

 

जापानका सार्वजनिक यातायातका सेवाहरु पर्याप्त चालक अभावका कारण विस्तार गर्न नसकिरहेको पनि समाचारमा जनाइएको छ । जापानमा काम गर्न जाने विदेशी कामदार सम्बन्धित काममा दक्ष हुनुका अतिरिक्त जापानी भाषामा पनि तोकिएको स्ट्यान्डर्ड कायम गर्नुपर्ने बाध्यता छ । 

 

जापानले ट्रक तथा मालबाहक सवारी सञ्चालन गर्न विदेशी कामदार भित्र्याउने निर्णय गरेपनि जापानी भाषामा कमजोर ड्राइभरले रोजगारी पाउने सम्भावना न्यून रहने बताइएको छ । ड्राइभरका लागि जापानी भाषा दक्षता जाँच गर्ने परीक्षाको दोस्रो तह (एन २) पास गरेको हुनुपर्ने मापदण्ड राखिन सक्ने अनुमान छ ।