Date : 2023-08-18
डेङ्गीबारे प्रश्न र उत्तर: छालामा लगाउने क्रीम वा धूपले के लामखुट्टेबाट जोगाउँछ, प्लेट्लट घट्दा के गर्ने?
अन्तर्राष्ट्रिय तथ्याङ्कलाई आधार मान्दा प्रत्येक दुईदेखि तीन वर्षको अन्तरालमा लामखुट्टेबाट सर्ने डेङ्गी रोग प्रकोप बनेर फैलिन्छ। गत वर्ष यो रोगले नेपालमा ठूलो क्षति पुर्यायो।
डेङ्गीले यो वर्ष पनि उल्लेख्य सङ्ख्यामा मानिसहरूलाई सङ्क्रमित बनाइसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
सन् २०२३ को ज्यानुअरीदेखि अहिलेसम्म देशभरि १३,००० जनालाई डेङ्गीको सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले सङ्कलन गरेको तथ्याङ्कले देखाउँछ।
यो रोग हालसम्म ७४ वटा जिल्लामा फैलिसकेको छ।
डेङ्गी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरल सङ्क्रमण हो।
डेङ्गी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरल सङ्क्रमण हो।
डेङ्गी सार्ने लामखुट्टे कसरी चिन्ने?
इडीज प्रजातिका लामखुट्टेहरू प्रायः सेतो र कालो रङ्ग मिसिएका हुन्छन्। ती जीब्राको जस्तो छिर्केमिर्के रङ्गका हुन्छन्।
डेङ्गी भइहालेको खण्डमा कस्ता लक्षणहरू देखिन्छन्?
अचानक ज्वरो आउँछ। टाउको, जोर्नी, ढाड र पिँडुलाको मासु बेस्सरी दुख्छ। आँखाको गेडी खस्ला जस्तै हुन्छ। खानै मन नलाग्ने र वाकवाकी लाग्ने हुन्छ। यी लक्षणहरूलाई समग्रमा 'डेङ्गी फिभर' पनि भन्न सकिन्छ। यी सबै प्रारम्भिक लक्षण हुन्।
प्लेट्लट घट्दा के गर्ने?
सन् २०१० ताका डेङ्गीका बिरामीहरूमा प्लेट्लटको मात्रा घट्दा हामी आत्तियौँ। प्लेट्लट घट्दा बिरामीको गिजा, नाकलगायत शरीरको विभिन्न भागबाट रक्तस्राव हुन्थ्यो। त्यस्तो अवस्थामा हामीले प्लेट्लट ५०,००० भन्दा कम हुनासाथ रगत दिने गर्थ्यौँ।
प्लेट्लट मानिसको रगतमा हुने एक प्रकारको कोशिका हो। यसले शरीरमा कुनै पनि किसिमको चोट लागेर वा अन्य स्वास्थ्य समस्याका कारण हुने रक्तस्राव रोक्न सहयोग गर्छ। सामान्यतया मानव शरीरमा प्रतिमाइक्रोलिटर रगत बराबर १.५ लाखदेखि चार लाख प्लेट्लट हुनुपर्ने बताइन्छ।
अहिले बिरामीको स्वास्थ्यमा अन्य समस्या छ भने चिकित्सकको विश्लेषणअनुरूप प्लेट्लस २०,००० भन्दा कम हुनासाथ रगत दिन्छौँ। यदि अन्य शारीरिक जटिलता छैन भने १०,००० भन्दा कम नहुँदासम्म रगत चढाउँदैनौँ।
डेङ्गी भएका मानिसलाई दोहोर्याएर सङ्क्रमण हुन्छ कि हुँदैन?
डेङ्गी सङ्क्रमण भएलगत्तै फेरि उही समस्याले सताउने सम्भावना कम हुन्छ। तर केही समयपछि फेरि सङ्क्रमण हुनसक्छ। त्यस्तो अवस्थामा पहिलेको भन्दा फरक 'सीरोटाइप' सङ्क्रमण भएमा अवस्था जटिल बन्ने अनुसन्धानहरूले देखाएको छ।
'सीरोटाइप' कुनै पनि सूक्ष्मजीवको विभिन्न प्रकार वा प्रजातिको वर्गीकरण हो।
डेङ्गी भाइरस सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने यस रोग चार प्रकारका छन्। त्यसलाई सीरोटाइप वन, सीरोटाइप टू, सीरोटाइप थ्री र सीरोटाइप फोरमा वर्गीकरण गरिएको छ।