Date : 2023-06-23
बेलायतसँगको श्रम समझदारीको परीक्षण शुरु
इजरायल र जापानसँग भएका द्विपक्षीय श्रम सम्झौताले अपेक्षित परिणाम दिन नसकेको अवस्थामा बेलायतसँग गरिएको श्रम समझदारीको पनि परीक्षण शुरू भएको छ । गत भदौमा नेपाल र बेलायतबीच नेपाली नर्सलगायत स्वास्थ्यकर्मी जनशक्ति बेलायत लैजाने विषयमा समझदारी भएको थियो । त्यसको दश महिनापछि मात्रै मन्त्रिपरिषद्ले नेपाल–बेलायत द्विपक्षीय समझदारीको कार्ययोजना स्वीकार गरेको छ ।
नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले कार्यकाल समाप्त गरी स्वदेश फर्किने अवस्थामा नेपालबाट स्वास्थ्यकर्मी जनशक्ति पठाउने विषयमा प्रगति नभएको गुनासो गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले कार्ययोजना स्वीकृति मन्त्रिपरिषद्मा लगेका हुन् ।
शुरूवातमा बेलायतले कम्तीमा एक हजार नेपाली नर्स लैजाने बताएको छ । मन्त्रिपरिषद्ले कार्ययोजना पारित गरेपछि कतिपयले नेपालबाट खाडी र मलेसियाजस्ता परम्परागत गन्तव्यमा जसरी सहजै नेपाली जनशक्ति जान पाउने बताएका छन् । तर त्यससम्बन्धमा ठोस गृहकार्य नभएका कारणले नेपाली नर्सहरू कहिले र कसरी जाने स्पष्ट हुन बाँकी रहेको बताइएको छ ।
समझदारीअनुसार नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी प्रक्रियाबमोजिम नेपाली स्वास्थ्यकर्मीको छनोट र पदस्थापन हुने बताइएको छ । बेलायत जाने नेपाली नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवा एनएचएसमा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न गराउने समझदारीमा उल्लेख छ । त्यस्तै नियुक्ति प्रक्रियाका लागि कुनै शुल्क नलाग्ने र छनोट भएका स्वास्थ्यकर्मीको लागतको शोधभर्ना हुने समझदारीमा उल्लेख छ ।