![](https://rojgariapp.com//storage/512/map.jpg)
By : Rojgari App
भारतीय संसद भवनको 'नक्साको विषयमा बहस छेडिएको
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतीय संसद भवनको नक्साको विषयमा बहस छेडिएको छ । यो विषय भ्रमणमा उठ्छ कि उठ्दैन् भनेर नेपालीहरुले चासोका साथ लिएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा प्रमुख प्रतिप्रक्षी दल नेकपा एमालेका सांसद ठाकुर गैरेले भारतको संसद भवनको भित्तेनक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुको नाम रहेको भनी ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री शक्तिबहादुर बस्नेतको ध्यानाकर्षण गरे । उर्जामन्त्री बस्नेत पनि प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा सदस्य छन् ।
‘भारतीय संसद् भवनको नक्सामा नेपालको लुम्बिनी र कपिलबस्तुको नाम पनि रहेको आएको छ । यस सन्दर्भमा के भएको हो ? सरकारको ध्यान पुगोस्’ एमाले सांसद गैरेले भने । मन्त्री बस्नेतले यो विषय सरकारको नोटिसमा रहेको जवाफ फर्काए । उनले नक्सा कस्तो प्रकृतिको हो भनेर बुझ्न आवश्यक रहेको पनि उल्लेख गरे ।
यस विषयमा मंगलबार बसेको सत्तारुढ दल माओवादी केन्द्रको संसदीय दलको बैठकमा समेत छलफल भएको छ । सांसदहरु पूर्णबहादुर घर्ती, लेखनाथ दाहाल, माधव सापकोटा लगायतले नेपाली भूमि भारतको नक्सामा समावेश भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । जवाफमा प्रचण्डले भनेका छन्, ‘मैले पनि न्युज सुनेको हुँ, थप बुझौंला । आधिकारिकता के हो बुझ्छु ।’
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यो विषय उठाउन प्रधानमन्त्री प्रचण्डलाई सुझाएका छन् । भारतको नयाँ संसद भवनमा काठमा कुँदिएको भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु रहेको सत्य हो भने उचित नहुने ओलीको भनाइ छ । उनी भन्छन्, भारतजस्तो एउटा पुरानो, सुदृढ र नमूना लोकतन्त्र भनिएको देशले काठमा कुँदेर नेपालको भुमि संसद जस्तो ठाउँमा राख्ने व्यवहार गर्छ भने उचित भन्न सकिँदैन् ।’
एमाले अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणको क्रममा सो नक्सा संसद भवनबाट हटाउने कुरा भारत सरकारसँग गर्नुपर्ने बताए । उनी थप्छन्, प्रधानमन्त्री प्रचण्डले त्यो नक्सा सच्याउनुस्, हटाउनुस् भन्नुपर्छ । त्यति कुरा गर्न सक्नुहुन्न भने भारत भ्रमणमा किन जाने ?’
भ्रमणको प्राथमिकता विद्युतीय व्यापार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारतको चार दिने भ्रमणको मुख्य प्राथमिकतमा विद्युत व्यापार रहेको अधिकारीहरु बताउँछन् । परराष्ट्र मन्त्रालयका अनुसार विद्युत व्यापार सम्झौतामा भारतको दीर्घकालीन साथ खोज्ने प्रयास हुनेछ ।
प्रधानमन्त्री प्रचण्डको भ्रमणबारे जानकारी दिन मंगलबार आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले भ्रमणमा विद्युतीय व्यापार, नेपाल–भारतबीचको पारवहन सन्धिको पुनरावलोकन, ट्रान्समिसन लाइन, बन्दरगाह निर्माण लगायतका विषयमा सम्झौता हुनेछ । साउदका अनुसार चीनसँग हुने व्यापारको ठुलो हिस्सामा हिन्द महासागर प्रयोग भएकाले त्यसका लागि दीर्घकालीन रूपमा भारत सँगको पारगमनसन्धिमा समेत नेपालको जोड रहने छ ।
साथै, नेपालमा उत्पादित कृषि उत्पादनलाई भारतीय बजारसम्म पहुँच स्थापना गर्ने विषयमा समेत भ्रमणका क्रममा छलफल हुनेछ । सिमरा, महेन्द्रनगर, नेपालगन्ज, भैरहवा नाकाको स्तरोन्नति गर्न पनि सरकारले भारतसँग सहयोग माग्ने जानकारी मन्त्री साउदले दिए । साउदले रक्सौल—वीरगञ्ज—सिमरा नाका धेरै व्यस्त हुने भएकाले यस मार्गको विकल्पमा अर्को मार्गसहितको नयाँ नाकाका बारेमा भारत सरकारसँग सम्भाव्य स्थानहरूको बारेमा छलफल गर्ने बताए ।
मन्त्री साउदले नेपाल–भारतका बीचमा धेरै मुद्दा भए पनि सिमानाको विषयलाई लिएर भएका घटनाका बारेमा पनि प्रधानमन्त्रीले समकक्षी मोदीलाई सुझाउने तयारी भएको बताए । उनले भने, ‘सीमा लगायतका विषयलाई लिएर नेपाल–भारतबीच मन्त्रीस्तरीय, सचिव÷सहसचिवस्तरीय समिति छन् । तिनलाई निरन्तरता दिनुपर्ने कुरामा पनि प्रधानमन्त्रीले सुझाउनु हुनेछ ।’
तीन वटा परियोजना शिलान्यास हुने
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बेला तीन वटा परियोजनाको शिलान्यास हुने भएको छ । त्यस्तै, एउटा परियोजनाको उद्घाटन हुनेछ ।
भारतको सिलिगुडीदेखि झापा सम्मको पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको शिलान्यास भारतबाटै दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
पूर्वी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न पश्चिम बंगालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउने सम्झौता यसअघि नै भइसकेको थियो । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने परियोजनाको समेत शिलान्यास गर्ने तयारी छ । झापा बोर्डरमा एकीकृत जाँच चौकीको पनि शिलान्यास गरिने तयारी भएको छ ।
नेपालगञ्जमा निर्माण भएको एकीकृत भन्सार जाँच चौकी (आइसिपी)को उद्घाटन पनि त्यहीबाट संयुक्त रुपमा गर्ने तयारी भइरहेको छ । सो आइसिपी ८७ बिघा क्षेत्रफलमा फैलिएको छ । दोधारा चाँदनीमा सुख्खा बन्दरगाहको निर्माण हुनेछ । आगामी आर्थिक वर्षको बजेटमा दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गर्ने उल्लेख छ ।