![](https://rojgariapp.com//storage/998/त्रिभुवन-अन्तर्राष्ट्रिय-विमानस्थल.jpg)
By : Rojgari App
भिजिटमा पठाउने प्रहरी नै ५ लाख ठगीमा पक्राउ, हाकिम र कर्मचारीको कमाइ कति ?
उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली शैक्षिक कागजात बनाएर भिजिट भिसामा पठाउने गिरोहमा संलग्न रहेको आरोपमा एक जना प्रहरी जवान पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई उदयपुरका ३० वर्षीय आशिष श्रेष्ठलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाइदिएको अभियोगमा पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले बताए । प्रहरीले नक्कली कागजातका आधारमा विदेश जान खोजेका श्रेष्ठलाई पनि पक्राउ गरेको छ । गृह मन्त्रालयले भिजिट भिसामा विदेश जान कम्तीमा १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्ने मापदण्ड तोकेको छ । प्रहरी जवान तामाङले श्रेष्ठसँग शैक्षिक प्रमाणपत्र र सबै प्रक्रियाका लागि ५ लाख रुपैयाँ लिएको अनुसन्धानको क्रममा खुलेको प्रहरीले बताएको छ । मोटो रकम लिएर नक्कली शैक्षिक प्रमाण बनाइ भिजिट भिसामा पठाउन खोजेको भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । शुरुमा पक्राउ परेका श्रेष्ठको बयानको आधारमा प्रहरी जवान तामाङको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ । प्रहरी जवान तामाङले सेटिङमार्फत भिजिट भिसामा जाने व्यक्तिहरुलाई अध्यागमन पास गराइ मोटो रकम असुल्ने हाकिमहरुको सहयोगी भूमिका खेलेको पनि बताइएको छ । विगतमा भिजिट भिसामा विदेशीने र रोजगारी नपाइ अलपत्र पर्ने क्रम तीव्र भएपछि गृह मन्त्रालयले त्यसमा चासो राखेर नियन्त्रणका केही उपाय अवलम्बन गरेको थियो । तर ट्राभल्स एजेन्सी र केही जहाज कम्पनीको मिलेमतोमा भिजिट भिसामा जाने क्रम उल्लेखरुपमा बढेको स्रोतले बताएको छ । मुख्यगरी राति सवा ११ बजेपछि यूएईका लागि उडान भर्ने निजी एयरलाइन्सका ८० प्रतिशत यात्रु भिजिट भिसाका हुने उक्त स्रोतको दाबी छ । पर्याप्त आर्थिक स्रोत देखाउन नसक्नेको भिजिट भिसा नियन्त्रणका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी पनि प्रस्थान कक्षमा खटिने गरेका छन् ।
तर उनीहरूले तलदेखि माथिल्लो तहसम्म कसिएको सेटिङको जालो तोड्न नसकेको बताइन्छ । प्रहरी जवान नै ५ लाख लिएर नक्कली कागजात बनाएर भिजिट भिसामा पठाउने धन्दामा पक्राउ परेको घटनाले उपल्लो तहका अधिकारीहरुको मासिक कमाइ अत्यधिक रहेको देखाउने स्रोत बताउँछ । यसअघि भिजिट भिसामा गैरकानूनीरुपमा पठाउने धन्दामा गृह मन्त्रालयअन्तर्गत रहने अध्यागमन विभागका कर्मचारीहरु पनि संलग्न भएको समाचार सार्वजनिक भएपछि भिजिट भिसाका कारण उत्पन्न समस्या समाधानका लागि तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण र तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसहित तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, श्रम मन्त्रालयका सचिव एकनारायण अर्याल, गृह मन्त्रालयका सहसचिव, अध्यागमन विभागका महानिर्देशनक, वैदेशिक रोजगार विभागका महानिर्देशकलगायत दुबै मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरुबीच छलफल भएको थियो । छलफलमा वैदेशिक रोजगारका लागि जाँदा प्रदान गरिने श्रम स्वीकृति जस्तै पारिवारिक भिसा र भिजिट भिसामा विदेश जाँदा पनि स्वीकृति लिनुपर्ने व्यवस्था गर्ने निष्कर्ष निकाल्दै त्यसका लागि अध्यागमन विभागले छुट्टै ‘एप्स’ निर्माण गरी कार्यान्वयनमा लैजाने सहमति गरिएको थियो । त्यस्तै यसअघि भिजिट भिसा तथा व्यक्तिगत श्रम स्वीकृतिमा जाने अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले स्वघोषणापत्र अनिवार्यरुपमा भर्नुपर्ने व्यवस्था गरिएको थियोे । वैदेशिक रोजगारीका नाममा भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृति लिएर गएका व्यक्ति अलपत्र पर्ने, ठगिने, तोकेकोभन्दा बढी शुल्क तिर्न बाध्य पारिनेजस्ता प्रवृत्ति देखिएपछि स्वघोषणापत्र भर्नुपर्ने व्यवस्था गरिएको हो । तर सेटिङका आधारमा प्रत्येक दिन मोटो रकम बुझ्न पल्केका हाकिमहरुले नियन्त्रणतर्फ आँखा चिम्लिने गरेको पनि स्रोतको भनाइ छ ।