Date : 2023-07-16


अध्यागमन महानिर्देशकको राजीनामा माग

वैदेशिक रोजगार व्यवसायीहरुले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको राजीनामा माग गरेका छन् । उनीहरुले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आह्वानमा आज महानिर्देशक शालिकराम अधिकारीको राजीनामा माग गर्दै कालिकास्थानस्थित अध्यागमन विभाग घेराउ गर्ने भएका छन् । संघले वैदेशिक रोजगार ऎन २०६४ अनुसार सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी संस्थागतरुपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डनलगयतका विभिन्न देशहरूमा जान लागेका कामदारहरुलाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले केही दिनदेखि बिनाकारण कामदारहरु फर्काइरहेको कारणले महानिर्देशक अधिकारीको राजीनामा माग्न बाध्य भएको संघका अध्यक्ष राजेन्द्र भण्डारीले मध्यान्हलाई बताए। अध्यागमनले बिना कारणले श्रम स्वीकृति लिएका कामदार फर्काउँदा व्यवसाय गर्न समस्या भएको संघको भनाइ छ । आफूलाई माओवादी महानिर्देशक भन्न रुचाउने र आफू आफैं अध्यागमन आएको नभै गृहमन्त्रीको “रिक्वेष्ट”मा आएको भनेर आफू मातहतका कर्मचारीलाई बताउने अधिकारीले सेवाग्राहीसँग सामान्य शिष्टाचारसमेत नदेखाउने भुक्तभोगीहरु बताउँछन् । संघले आज आइतबार ११ बजे उनै अधिकारीको राजीनामाको मागका लागि अध्यागमन कार्यालय कालिकास्थान उपस्थित हुन व्यवसायीलाई आग्रह गरेको महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले वैदेशिक रोजगारका लागि कुवेत जान लागेका ३७ जना कामदारलाई शुक्रबार रातीपनि फर्काएको छ। असार २७ र २८ गते कुवेत जानेक्रममा विमानस्थल अध्यागमनबाट फर्काएपछि व्यवसायीले कामदारलाई टिकट काटेर पुनः वैदेशिक रोजगारमा पठाएकोमा विमानस्थल अध्यागमन कार्यलयले शनिबार फेरि अन्य श्रमिकहरुलाई फर्काएको थियो । सलाम एयर, जजिरा एअर र कुवेत एयरलाइन्सबाट जाने तयारीमा थिए। उनीहरूलाई वैदेशिक रोजगारीमा कुवेत पठाउन नीलकमल ह्युमन रिसोर्सले श्रम स्वीकृति लिएको थियो । संघका अध्यक्ष भण्डारीले श्रम स्वीकृति लिएका कामदार पुनः फर्काउन अध्यागमन बिभागका महानिर्देशक शालिकराम अधिकारीले निर्देशन दिएको बताए । अध्यक्ष भण्डारीले महानिर्देशक अधिकारीको निर्देशन एकल र बदनियतपूर्ण देखिएको बताए । अध्यागमन कार्यालयले भटाभट कामदार फर्काउँदा एयरलाइन्स कम्पनीहरूले कामदारको टिकट काट्न छोडेको, विदेशस्थित रोजगारदाताहरुले नेपाली कामदार लैजाँदा झन्झट व्यहोर्नुपरेको र आर्थिक लगानी खेर गएकोले अन्य मुलुकबाट कामदार लैजाने विकल्प खोज्न थालेको बताइएको छ । संघले शुक्रबार मात्रै पत्रकार सम्मेलन गरी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई बद्नियतले राेक्ने अध्यागमन कर्मचारीहरूमाथि छानबिन र कारवाहीको दायरामा लिन माग सरकारसंग माग गरेको थियो ।