Date : 2023-10-13


अतिक्रमित नेपाली भूमिमा मोदीको भ्रमण

दिल्लीस्थित नेपाली दूतावाससहित नेपाल सरकार बेखबर, सरकारसँग सांसदले मागे जवाफ
कालापानीलगायत व्यास क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बलका अधिकारीसँग मोदीको छलफल
दार्चुला — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अतिक्रमित नेपाली भूमि लिपुलेक–कालापानी क्षेत्रमा कूटनीतिक अभ्यासविपरीत भ्रमण गरेका छन् ।
भारतद्वारा अतिक्रमित दार्चुलाको व्यास गाउँपालिका–१ स्थित कुटी, नावी, गुञ्जी क्षेत्रमा बिहीबार मोदी र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भ्रमण गरेका हुन् । हेलिकोप्टरबाट बिहानै कुटीको जोलिङकाङ हेलिप्याडमा उत्रिएका मोदीले त्यहाँस्थित पार्वतीकुण्डमा पूजापाठ र कैलाश मानसरोवरको दूरदर्शन गरेका थिए ।

हेलिकोप्टरबाट साढे ८ बजे नेपाली भूमि कुटीस्थित जोलिङकाङ उत्रिएका उनले त्यहीँबाट मानसरोवरको दर्शन गरेका हुन् । भारतबाट अतिक्रमित अर्को बस्ती गुञ्जीमा उनले स्थानीयसँग छलफल गरेका थिए भने कुटी, नावी, गुञ्जीका साथै भारतका रोङकाङ, नपलच्यु, गर्ब्याङ गाउँका बासिन्दासँग भेटघाट गरे । नेपाल र भारतका ६ वटै बस्तीका केही व्यक्तिसँग छुट्टै छलफल पनि गरेका थिए । छलफलमा करिब ३० जना सहभागी गराइएको एक स्थानीयले बताए ।


मोदीले कालापानीलगायत व्यास क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बलका अधिकारीसँग छलफल गरेका थिए । भारतको अल्मोडास्थित जागेश्वर धाममा पूजा गरेर पिथौरागढमा आयोजना गरिएको जनसभालाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री मोदीसँग उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुगेका छन् ।

अतिक्रमित नेपाली भूमिमा भारतीय प्रधानमन्त्री आउँदा नेपालीलाई आधिकारिक जानकारी नभएको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् । यसअघि पनि भारतले कर्मचारी र नेताहरूको भ्रमणबारे जानकारी नदिने गरेको उनले बताइन् । ‘भारतीय प्रधानमन्त्री आउने कुरा पनि हामीले हाम्रो आन्तरिक सुरक्षा संयन्त्रबाट थाहा पाइएको हो । त्यसबाहेक अन्य धेरै जानकारी छैन,’ उनले भनिन् ।

प्रधानमन्त्री मोदीले बिहीबार भ्रमण गरेको अतिक्रमित भूमिमा नेपालीलाई भने प्रवेश निधेष छ । उक्त क्षेत्रका भारतीय नागरिकलाई पनि प्रशासनको अनुमतिबेगर जान मिल्दैन । मोदीको भ्रमणलाई लक्षित गरी भारतीय पक्षले सीमा क्षेत्रमा झन्डै १० दिनदेखि सुरक्षा जाँच बढाएको थियो । भारतीय प्रशासनले साता दिनदेखि छियालेकभन्दा माथि जाने ‘बहुयात्रा’ अनुमतिपत्र दिन रोकेको थियो । ओमपर्वत र आदिकैलाश दर्शनका लागि भारतका विभिन्न ठाउँबाट दार्चुलापारिको धारचुला क्षेत्रमा पुगेर हजारौं भारतीय दर्शनार्थी रोकिएका छन् । धारचुलाबाट करिब ८० किलोमिटर उत्तरको छियालेकभन्दा माथि भारतीय प्रशासनको अनुमतिबेगर जान पाउँदैनन् । मोदीको भ्रमणका लागि छियालेक माथिल्लो क्षेत्रका बासिन्दालाई तल–माथि आउजाउ गर्न नदिएको र मजदुरीका लागि माथिल्लो क्षेत्रमा पुगेका नेपालीहरूलाई केही दिनअघि नै घर फर्काएको स्थानीय जमनसिंह कुँवरले बताए । छियालेकभन्दा माथि करिब ४ किलोमिटर उत्तर सीतापुलसम्म मात्रै बहुयात्रा अनुमति दिने गरेको छ । सीतापुल तरेर व्यासको छाङरु र टिंकरका बासिन्दा मौसमी बसाइँ सर्दै आएका छन् । सीतापुलबाट करिब तीन घण्टा उत्तर हिँडेर गुञ्जी पुगिन्छ ।

भारतले अतिक्रमित नेपाली भूमि गुञ्जी, कालापानी, लिपुलेक, नावी, कुटीमा हजारौंको संख्यामा सुरक्षा निकायका विभिन्न संरचना राखेको छ । त्यस क्षेत्रको केन्द्र नेपालको अतिक्रमित भूमि गुञ्जी बनाएको छ । भारतले नावी र कुटीमा ठूला हेलिप्याड निर्माण गरेको छ भने गुञ्जीदेखि लिम्पियाधुराको जोलिङकाङसम्म र गुञ्जी हुँदै कालापानी तथा लिपुलेकसम्म पक्की सडक निर्माण गरिसकेको छ ।