Date : 2023-08-23
अस्पतालबाटै नवजात शिशु लाखौंमा बिक्री गरेको पक्राउ
कोशी अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन डा. तपेश्वरलाल कर्णले यसअघि पनि विभिन्न समयमा अवैध रुपमा जन्मिएका दर्जनभन्दा धेरै शिशु निस्सन्तान दम्पतीलाई लाखौंमा बिक्री गरेको पाइएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार डा. कर्णले अविवाहित जोडीको सम्बन्धबाट जन्मिएको शिशु निस्सन्तान दम्पतीलाई बेच्ने कार्यमा नेतृत्वदायी भूमिका खेल्दै आएका छन् । पछिल्लो एउटा घटना प्रहरीसम्म पुगेपछि विगतमा पनि त्यस्तै कार्य गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार डा.कर्णले पछिल्लो पटक भोजपुर हतुवागढी ४ की २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी प्रेमिका २६ वर्षीया युवतीको सम्बन्धबाट गत असार १४ गते ग्रिनक्रस अस्पतालमा सामान्य रुपमा जन्मिएकी शिशुलाई मोरङको काटहरी गाउँपालिका २ आर्दश टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पुष्टि भएको छ ।
बच्चा खरिद गर्ने सूर्यनारायण, उनकी पत्नी श्यामवती, आमा दिलमाया र दिदी सुधा राजवंशीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । शशु बिक्री गर्ने डा. कर्णलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार डा. कर्णले ग्रिनक्रस अस्पतालको ओटी विभागमा कार्यरत सुधा राजवंशी मार्फत पछिल्लो पटक पाँच लाखमा शिशु बिक्री गरेका हुन् ।