Date : 2023-07-17
आजदेखि अटोमेसन श्रम स्वीकृति
वैदेशिक रोजगार कार्यालय ताहाचलले सोमबारदेखि श्रम स्वीकृति स्वचालित प्रणाली अर्थात अटोमेसन प्रणालीबाट दिने बताएको छ ।
कार्यालयले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको सहयोगमा गत हप्ता व्यवसायी तथा कर्मचारीलाई तीनदिने अटोमेसन प्रशिक्षण तालिम दिएको थियोे । प्रशिक्षणमा वैदेशिक रोजगार व्यवसायी र उनीहरूका कर्मचारी गरी १ हजार ४ सय जना सहभागी भएका थिए ।
अटोमेसन प्रणाली सोमबारदेखि लागू हुने भएपनि विभागले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) लागू गरेदेखि नै श्रम स्वीकृति प्रविधिमा आधारित भएको बताएको छ । विभागले अटोमेसनपछि वैदेशिक रोजगारका क्षेत्रमा नयाँ युगको शुरूवात हुने पनि बताएको छ ।
अटोमेसन सञ्चालनमा आएपछि व्यवसायी आफैंले विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा मागपत्र, अन्तर्वार्ता मिति, कामदारको छनोट सूची अपलोड गरेर अन्तिम श्रम स्वीकृति निकाल्न सक्ने विभागले बताएको छ ।
अटोमेसन प्रणालीबाट काम शुरू भए श्रम स्वीकृतिका लागि आएका आवेदनको विवरण प्रमाणीकरण र अनुगमनको काम अधिकृत तहका कर्मचारीहरूलेमात्रै गर्ने विभागले जनाएको छ ।