Date : 2023-09-18


आज मिथिलाञ्चल /तराईमा चौरचन पर्व मनाइँदै, Chaurchan Festival in Terai Madhesh

मिथिलाञ्चलमा प्रसिद्ध चौठचन्द्र अर्थात् चौरचन पर्व आज मनाइँदैछ ।

Chaurchan Festival in Terai Madhesh:

In the districts of Terai Madhes, Chauthchand or Chaurchan festival celebrates by offering Argha to the rising moon. This festival is celebrated on the evening of Ganesh Chaturthi by Vratalu by giving Argha to the moon rising from the courtyard of his house and Kaushi. There is a religious belief that people started worshiping the moon to get rid of the curse of Lord Ganesha.

हरेक वर्ष भदौ शुक्लपक्ष चतुर्थीका दिन यो पर्व मनाइने गरिन्छ । यस क्षेत्रमा छठपछिको दोस्रो ठूलो पर्वका रूपमा चौठचन्द्र पर्व मनाइन्छ । यस पर्वका दिन महिला दिनभरि उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ । साँझ सूर्यास्तपछि गाईको गोबरले आँगन लिपपोत गरी बनाइएको चतुष्कोण यज्ञस्थलमा द्वीप प्रज्ज्वलन गर्दै उपवास बसेकाहरूले फलफूल र मिष्ठान्नको परिकारलाई प्रसादका रूपमा चन्द्रमालाई देखाएर पर्व समापन हुने परम्परा रहेको छ ।

यस पर्वमा खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पीठोको कलात्मक अरिपन बनाई, त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । त्यसक्रममा नयाँ माटोका भाँडाको दही, केरा, मिठाई, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवी–देवतालाई चढाइने गरिन्छ ।

दिनभरि निराहार व्रत वा उपासना बसेका महिलाले साँझपख चन्द्रमा उदय हुनु अगाडि दिनमा बनाइएका पूजा र अन्य सामग्री आँगनमा अरिपन बनाई माटोका भाँडामा सजाएर राख्दछन् । चन्द्रमा उदय भएपछि बर्तालु महिलाले हातमा कुनै फल लिएर चन्द्रमाको दर्शन गर्ने र त्यसपछि परिवारका अन्य सदस्यले पनि त्यसैगरी दर्शन गर्ने प्रचलन छ ।

प्रसादका रूपमा बर्तालुहरूका घर–घरमा पिरकिया, खजुरी, खाजा, पुरी र खिर बनाउने चलन छ । चौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यताअनुसार चौठचन्द्र पर्व मान्ने परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काक्रा, घरमा तयार पारेको पकवान, मिठाई, गाँजरजस्ता सामग्री लिएर दर्शन गर्ने परम्परा चलिआएको छ ।